World Rabies Day
विश्व रेबिज दिवस (World Rabies Day)
ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको दिवसको रूपमा मनाउन थालेको थियो । कालान्तरमा विश्व स्वास्थ्य सङ्गठनले यस दिवसलाई समर्थन गरेको थियो । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रूपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरूकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रूपमा मनाइन्छ ।
यस वर्ष "Breaking Boundaries" भन्ने नाराका साथ साथ विश्वभर मनाउन संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङगठन (FAO), विश्व पशु स्वास्थ्य संगठन (WOAH), विश्व स्वास्थ्य संगठन (WHO) र रेबिज रोग नियन्त्रणका लागि विश्वव्यापि गठबन्धन (GARC) बाट अनुरोध छ । सन् २०३० सम्म कुकुरको टोकाइबाट मानिसमा हुने रेबिजलाई शुन्यमा झार्ने अन्तराष्ट्रिय प्रतिवद्धता अनुसार नेपालमा समेत यस रोग विरुद्ध जनचेतना अभिबृद्धि तथा रोग नियन्त्रणका कार्यहरु गरिदैँ आएको छ ।
रेबिज रोग भाइरसबाट स्तनधारी प्राणीमा लाग्ने प्राणघातक रोग हो । यो रोग बिशेष गरेर कुकुर तथा बिरालो जातिका जनावरको टोकाइबाट मानिस लगायत अन्य स्तनधारी जनावरहरूमा समेत सर्ने गर्दछ । यसले केन्द्रीय स्नायु प्रणालीमा असर पार्ने भएकोले जनावरमा जस्तैः मानिसमा पनि यसको लक्षण दुई प्रकारको हुन्छ,
- उत्तेजित स्वभावको
- पक्षघात हुने किसिमको हुन्छ ।
धेरैजसो मानिसमा पहिलो किसिमको रेबिज देखिन्छ ।
९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९/८०को तथ्याङ्कअनुसार ७५ हजार पाँच सय ६२ जनालाई कुकुर र नौ हजार नौ सय २१ जनालाई अन्य जनावरको टोकाइबाट बिरामी भएका थिए ।
रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट सुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । कुकुर वा बिरालोजस्ता जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा वा खुवाउँदा धेरै सावधानी अपनाउनु पर्छ । टोक्नासाथ रेबिजविरुद्धको खोप लगाएमा यो रोगबाट बच्न सकिन्छ । अन्यथा एक पटक लक्षण देखिसेकपछि यो प्राणघातक हुन्छ र धेरैजसो अवस्थामा मृत्यु हुन्छ । कुनै पनि उमेर समूहका कुनै पनि प्रकारका कुकुर वा जंगली जनावरले टोक्दा यो रोग सर्न सक्छ ।
घरमा पालेको कुकुरमा समेत सङ्क्रमण हुन सक्छ, तुरुन्त रेबिजविरुद्धको भ्याक्सीन लगाउनुपर्छ । पाँच वर्षमुनिका बालबालिकालाई रेबिज लाग्दैन भन्ने भ्रम छ । सबै उमेर समूहका लागि यसविरुद्धको खोप अत्यावश्यक हुन्छ । जनावरले टोक्ने बित्तिकै बगिरहेको, धाराको पानीमा १५ मिनेटसम्म सफा गर्नु पर्छ । अझैँ पनि गाउँघरमा जनावरले टोकेको घाउमा बेसार, खुर्सानी दल्ने, आगोले पोल्ने वा डाम्ने चलन छ, त्यसले सङ्क्रमण झन् बढ्ने जोखिम हुन्छ । रेबिजविरुद्धको खोप सरकारी स्वास्थ्यसंस्थाहरुमा निःशुल्क रुपमा लगाउन सकिन्छ ।
सृष्टिका सर्बश्रेष्ठ प्राणीको अथक प्रयासले कैयौं रोग माथी बिजय हासिल गरे । क्यान्सर, एड्स तथा हेपाटाइटिस् जस्ता प्राणघातक रोगका उपचार विधिहरू चिकित्सा बिज्ञानबाट निकालिए तापनि यस रोगको कुनै मुक्तिको उपाय तथा उपचार कसैले खोज्न सकेको छैन र निकट भविष्यमा पनि यस रोगबाट मृत्यु बाहेकको गन्तब्य पत्ता लाग्ने संभावना क्षीण नै छ। मानिसमा यसको लक्षण देखिसकेपछि मृत्यु अवश्यम्भावी हुन्छ। त्यसैले यो रोग लाग्नबाट बच्नु नै यसको उपचार हो भन्नुमा दुईमत नहोला । प्राविधिक वर्ग लगायत सर्वसाधारणमा यो रोग सम्बन्धमा विभिन्न जिज्ञासाहरू छन्, किन भने ईतिहासमा यो रोग सम्बन्धी त्रासहरू र यो रोग विरूद्ध दिइने खोपहरू पिडादायी हुन्छन् भनि वर्णन गरिएका छन्। प्रचार प्रसारमा त्यति उच्च स्थान नपाएको तर सबै भन्दा डरलाग्दो यस रोगबारे प्राविधिक वर्ग तथा आम नागरिकमा जति प्रचार प्रसार र जनचेतना हुनु पर्ने हो त्यत्ति भएको छैन तथा तिनको प्रभाव समेत कम छ ।
रेबिज रोग बारे विस्तृत जानकारीको लागि यहाँ CLICK गरि पढ्न र डाउनलोड गर्न सक्नुहुनेछ ।

Shisir Kumar Adhikari