Logo
धर्मो रक्षति रक्षितः

World Antibiotics Awareness Week

November 18-24
Public Health Related Weeks
All 2025 2024 2023 2022
Shisir Kumar Adhikari 9 1825 30 Download (581 KB)
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (World Antibiotics Awareness Week)
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह- २०१५ देखि हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म मनाउन सुरु गरिएको हो ।  यो  सप्ताह कार्यक्रम प्रतिजैविक प्रतिरोधबाट स्वास्थ्यमा पर्ने जोखिमको रोकथाम गर्न सबै क्षेत्रहरू र जनताले कसरी एकसाथ काम गर्न सक्छौ भन्ने अभियान र वकालत गर्ने उद्देश्य राखि मनाउने गरिन्छ। सन् २०१५ मा संयुक्त राष्ट्रसङ्घीय महासभामा प्रतिजैविक प्रतिरोध सम्बन्धी भएको उच्चस्तरीय बैठकमा विश्वव्यापी कार्ययोजना (GAP-AMR) संग मेल खाने गरी राष्ट्रिय कार्ययोजना (NAP-AMR) बनाएर अघि बढ्ने प्रस्ताव पारित भएको थियाे।  विश्व एन्टीमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह विश्व स्वास्थ्य संगठन, विश्व खाद्य तथा कृषि संगठन, विश्व पशु स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको संयुक्त आह्वानमा मनाइने गरिन्छ ।

सूक्ष्मजीव र प्रतिजैविक औषधि
मानिस तथा पशुपन्छीमा सूक्ष्मजीव (ब्याक्टेरिया, भाईरस, ढुसी, परजीवी) को कारणले संक्रमण हुने/रोग लाग्ने हुन्छ । उक्त रोग निवारण गर्न/उपचार गर्न प्रयोग हुने औषधिलाई प्रतिजैविक औषधि अर्थात् एन्टीबायोटिक्स लगायत एन्टीमाईक्रोबियल्स (antibiotics, antimicrobials) भनिन्छ ।
  • ब्याक्टेरिया को कारणले संक्रमण/रोग लागेमा प्रयोग गरिने औषधिलाई एन्टीबायोटिक्स (Antibiotics) वा एन्टीब्याक्टेरियल (Antibacterial) भनिन्छ ।
  • भाईरसको कारणले संक्रमण/रोग लागेमा प्रयोग गरिने औषधिलाई एन्टीभाईरल (Antiviral) भनिन्छ ।
  • ढुसीको कारणले संक्रमण / रोग लागेमा प्रयोग गरिने औषधिलाई एन्टीफन्गल (Antifungal) भनिन्छ ।
  • परजीवीको कारणले संक्रमण/रोग लागेमा प्रयोग गरिने औषधिलाई एन्टीपारासाईटिक (Antiparasitic) भनिन्छ ।
यी सबै वर्गको औषधिलाई एकमुष्ठमा भन्नु पर्दा एन्टीमाईक्रोबियल्स (Antimicrobials) भनिन्छ । नेपाली शब्दमा भन्नुपर्दा प्रतिजैविक औषधि भनिन्छ । यी प्रतिजैविक औषधिको मूलभुत काम भनेको सूक्ष्मजीवलाई मार्नु वा निस्क्रिय बनाई रोग/संक्रमण बाट उन्मुक्ति दिनु हो। यदि औषधिले आफ्नो मूलभुत कार्य गर्न सकेन भने संक्रमण/रोग निको हुन पाउँदैन । अर्थात् औषधिहरु रोग/संक्रमण ब्रिरुद्द प्रभावहीन हुन जान्छ । औषधि प्रभावहीन हुनु भनेको औषधिले असर देखाउन नसक्नु, औषधिले काम गर्न नसक्नु, रोगको उपचार गर्न नसक्नु हो ।

प्रतिजैविक प्रतिरोध (एन्टीमाइक्रोबियल रेजिस्टेन्स, Antimicrobial Resistance, AMR)
प्रतिजैविक प्रतिरोध भनेको सूक्ष्मजीवले विकास गर्ने यस्तो प्रतिरोध गुण हो जसले गर्दा प्रतिजैविक औषधिहरुले आफ्नो काम गर्न सक्दैनन् अर्थात् औषधि प्रभावहीन भई संक्रमण गराउने सूक्ष्मजीव प्रति आफ्नो असर देखाउन सक्दैन । जसले गर्दा औषधिको प्रभावकारितामा ह्रास आउछ | साधारण भाषामा भन्नुपर्दा, सूक्ष्मजीवले औषधि पचाएर बलियो हुन्छ, जसका कारण औषधिले रोग वा संक्रमणको उपचार गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ भनेर बुझ्न सकिन्छ।

के गर्ने ?
  • संक्रमण/रोग लागेको खण्डमा स्वास्थ्य उपचारको लागि प्रेशक्रिप्सन अनुसार मात्र प्रतिजैविक औषधि प्रयोग गर्ने
  • औषधि सेवन गरेको केही दिनमा आफूलाई राम्रो भएको महसुस भएता पनि स्वास्थ्यकर्मीको प्रेशक्रिप्सन लेखिदिएको अवधि बमोजिम पुरा समय औषधि सेवन गर्ने
  • बिध्यमान संक्रमण बिरुद्दको खोप पुरा लिने
  • त्यस्तै गरी आफूले पशुपन्छी पालन गरेको भए ती पशुपन्छीमा पनि पशुस्वास्थ्यकर्मी को सल्लाहमा मात्र औषधि प्रयोग गर्ने, बेलामा नै संक्रमण बिरुद्दको खोपदिने र पशुपालनमा सरसफाई, जैविक सुरक्षा, असल पशुपन्छीपालन विधि अपनाउने
  • बढी भएका वा म्याद नाघेका प्रतिजैविक औषधि सुरक्षित बिसर्जनको लागि पहलपूर्ण काम गर्ने
के नगर्ने ?
  • अनावश्यक वा आफूखुशी प्रतिजैविक औषधि प्रयोग नगर्ने
  • भाइरल संक्रमणको लागि एन्टीबायोटिक्सको प्रयोग नगर्ने
  • स्वास्थ्यकर्मीको प्रेशक्रिप्सन बिना आफू खुशी प्रतिजैविक औषधि प्रयोग नगर्ने
  • पशुपन्छीमा अनावश्यक वा आफूखुशी प्रतिजैविक औषधिको प्रयोग नगर्ने
  • बढी भएका वा म्याद नाघेका प्रतिजैविक औषधि बातावरणमा जथाभावी बिसर्जन नगर्ने
प्रतिजैविक औषधिको प्याकेटमा रहेको रातो धर्काको अर्थ के हो ?
औषधिको प्याकेटमा रहेको रातो धर्का संकेत हो, जसले प्रतिजैविक औषधि (अर्थात् एन्टीबायोटिक्स लगायत एन्टीमाईक्रोबियल) स्वास्थ्यकर्मीको प्रेशक्रिप्सन बिना आफू खुशी प्रयोग गर्नु हुँदैन, गरेको खण्डमा स्वास्थ्य जोखिम बढ्छ भन्ने जनाउँछ। यस्ता औषधिहरु औषधि ऐन २०३५ मा रहेको कानुनी प्रावधान अनुसार स्वास्थ्यकर्मीको प्रेशक्रिप्सनमा मात्र बिक्रीवितरण गर्नुपर्ने हुन्छ ।