World Mental Health Day (विश्व मानसिक स्वास्थ्य दिवस)
हरेक वर्ष अक्टोवर १० का दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाउने गरिन्छ । सन् १९९२ देखि हरेक वर्ष नेपाल लगायतका १५० भन्दा बढी देशहरूमा विभिन्न कार्यक्रम गरी विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । मानसिक स्वास्थ्य महासङ्घले सन् १९९२ देखि १९९४ सम्म कुनै विषयवस्तु वा थिम बिना विभिन्न कार्यक्रमका साथ मनाइएको भएपनि सन् १९९४ मा तत्कालीन संयुक्त राष्ट्र संघका महासचिव यूजीन ब्रोडीको सुझावमा पहिलो पटक “विश्वभर मानसिक स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने” (Improving the Quality of Mental Health Services throughout the World) भन्ने थिमको साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको थियो । यस दिनलाई विश्व स्वाथ्य संगठनले पनि ऐक्यबद्धता जनाउँदै सचेतनाको माध्यमबाट मानसिक स्वास्थ्यको प्रर्वधन, मानसिक रोगको रोकथाम, समयमा पहिचान, उपचार तथा उचित ब्यवस्थापन र समुदायमा पुर्नस्थापनाको माध्यमबाट मानसिक स्वास्थ्य र मानसिक रोगको उचित सम्वोधन गर्न समर्थन गरेको छ ।
सामाजिक असमानता र असमताले व्यक्तिको समग्र स्वास्थ्य र विशेषतः मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई उजागर गर्न नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा संघ, प्रदेश तथा स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइन्छ ।
मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको त्यस्तो अवस्थालाई जनाउँछ जसमा व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न सक्दछ, जीवनका सामान्य तनावको सामना गर्न सक्दछ, उत्पादनशील तरिकाले काम गर्न सक्दछ र आफ्नो समुदायमा योगदान दिन सक्षम हुन्छ । (विश्व स्वास्थ्य सङ्गठन, २००१)
मनोसामाजिक सु–स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको मन, शरीर र उसको समाज यी तीनै पक्षहरु बीचको सम्बन्ध सन्तुलित हुनु हो ।
मनोसामाजिक रूपमा सु–स्वास्थ्य भएको व्यक्तिमा निम्नानुसारका विशेषता हुनु पर्दछः
मानसिक स्वास्थ्य स्वास्थ्यको एक अभिन्न अंग हो । विभिन्न अध्ययनहरुका अनुसार मानसिक रोगहरुको भार पहिलेभन्दा बढ्दै गएको समेत देखिन्छ । मानसिक स्वास्थ्य समस्यालाई समयमा नै सम्बोधन नगर्दा व्यक्तिगत, पारिवारिक, सामाजिक तथा आर्थिक असरहरु हुने र यसले लागू औषध दुर्व्यसनी, आत्महत्या, अन्य शारीरिक रोगहरु निम्त्याउने देखि मृत्यु समेत हुन सक्ने हुन्छ ।
विश्व स्वास्थ्य संगठनले जुन २०२२ मा प्रकाशित गरेको तथ्य अनुसार विश्वमा हरेक ८ जनामा १ जनालाई मानसिक स्वास्थ्य समस्या हुने गरेको पाइएकोे छ । मानसिक स्वास्थ्य समस्या र लागु औषध दुर्व्यसनका कारण विश्वमा हरेक ५ मध्ये १ अपाङ्गता सहितको जीवन वर्ष बाँच्नु परेको छ र यो अवस्था नेपाल लगायतका न्यून तथा मध्य आयस्तर भएका देशहरुमा अझै बढी छ ।
नेपालमा कूल नसर्ने रोगहरूको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ । अपाङ्गता गराउने प्रमूख १० कारकहरू मध्ये ४ वटा मानसिक स्वास्थ्य समस्या नै पर्दछन् । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ को नतिजा अनुसार नेपालमा १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्य समास्या देखिएको छ । जसमा २.८ प्रतिशतमा चिन्ताजन्य समस्या, ०.६ प्रतिशतमा डिप्रेसनको समस्या पाईएको छ र ३.९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच पाइएको छ । १८ वर्षमाथिका व्यक्तिहरूमा १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । जसमा ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २.९ प्रतिशतमा डिप्रेसन, ०.२ प्रतिशतमा साइकोसिस र ७.२ प्रतिशतमा आत्महत्यासम्बन्धी सोचको अवस्था देखिएको छ ।
नेपालमा मानसिक स्वास्थ्य सेवा सन् १९६१ (वि.सं. २०१८) मा वीर अस्पतालको बहिरङ्ग सेवाबाट सुरु भएको हो । यो सेवा सैनिक अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुदै अन्य अस्पतालमा पनि क्रमशः बिस्तार हुदै गयो । मानसिक स्वास्थ्य सेवामा सबैको पहुच बढाउन, जनशक्ति विकास, जनचेतनाको अभिवृद्धि, संस्थागत क्षमता विकास तथा बहुपक्षीय साझेदारीको अवधारणासहितका रणनीति तथा कार्ययोजनाहरू राष्ट्रिय मानसिक स्वास्थ्य नीति २०५३ मा पहिलो पटक उल्लेख गरियो । नीतिगत रुपमा हाम्रो देशमा वि. सं. २०५३ सालमा मानसिक स्वास्थ्य नीति बने देखि मानसिक स्वास्थ्य सेवालाई मूल प्रवाहिकरण गर्न खोजेको मान्न सकिन्छ ।
मानसिक स्वास्थसँग सम्बन्धित थप सामग्री पढ्न र डाउनलोड गर्न यहाँ CLICK गर्नुहोस् ।