URGENT CALL FOR 1000 NURSES At Birat Medical College Teaching Hospital
विराट मेडिकल कलेजले एक हजार नर्सका लागि रोजगारी खुलायो
विराटनगरस्थित विराट मेडिकल कलेजले एकै पटक एक हजार नर्सका लागि रोजगारीको अवसर खुला गरेको छ। कलेजले अस्पतालमा नर्सहरुको संख्या कम भएको भन्दै एकैपटक एक हजारका लागि आवेदन माग गरेको हो।
मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्र कार्कीले अस्पतालका लागि आवश्यक भएर नै एकैपटक ठूलो संख्यामा रोजगारी खुला गरेको जानकारी दिए। उनले अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने गरी नै नर्सहरुको माग गरिएको बताए।
उनका अनुसार अस्पतालमा अहिले नर्सहरुको अभाव हुँदा भएका नर्सहरुलाई दुई तीन सिफ्टमा काम गराउनु पर्ने अवस्था रहेको छ। ‘नर्स अभाव भएपछि भएकै नर्सलाई दुई तीन सिफ्टमा खटाउनु पर्ने अवस्था छ,’ उनले भने, ‘त्यही भएर हामीले धेरै संख्यामा नर्सहरुको माग गरेका हौं।’
डा कार्कीका अनुसार विराट मेडिकल कलेजको शिक्षण अस्पताल एक हजार शय्याको हो। अस्पतालमा हाल आइसीयू तथा क्रिटिकल केयरका लागि २०० शय्या रहेका छन्। ‘क्रिटिकल केयरमा धेरै नर्सहरु आवश्यक पर्छ। फेरि एक हजार नर्सले एकै पटक काम गर्ने होइन। चौबिस घण्टामा एक सिफ्टमा तीन सय जनाले काम गर्ने हो,’ उनले भने।
डा कार्कीले अस्पतालमा स्टाफ नर्सको बेसिक तलब नै २२ हजार रहेको र नर्सहरुको ग्रेडका आधारमा उक्त तलब सुविधा थप हुँदै जाने जानकारी दिए। उनले कोही नर्सले पाँच वर्षसम्म जागिर छाड्दिन भनेर सम्झौता गर्छ भने उसको तलब सुरुमै ४५ हजार हुने पनि बताए।
डा कार्कीका अनुसार अस्पतालमा हाल दैनिक १५ सयभन्दा बढीले ओपिडी सेवा लिने गरेका छन्। दैनिक दुई सयभन्दा बढी बिरामी अस्पतालमा भर्ना हुन्छन् भने डेढ सय डिस्चार्ज हुन्छन्। अस्पतालमा हाल ४ सय नर्सहरु कार्यरत छन्।
Source: Swasthya Khabar Patrika
