Logo
धर्मो रक्षति रक्षितः

थोत्रो झोला र गाउँका रित्ता दैलाहरू: एक स्वास्थ्यकर्मीको संस्मरण

Santosh Subedi 17 Feb, 2026, 05:25 PM 402 5
थोत्रो झोला र गाउँका रित्ता दैलाहरू
पहाडी गोरेटोहरू नाप्दा–नाप्दा मेरो काँधको ओखती बोक्ने झोला अहिले थोत्रो भएको छ। यसका तुनाहरू थिचिएका छन्, रङ्ग खुइलिएको छ। तर, यो समाजले अझै पनि त्यही थोत्रो झोला खोजिरहन्छ, त्यही झोलालाई पछ्याइरहन्छ। यो झोला केवल औषधि बोक्ने साधन थिएन, यो त केवल कयौँ घरका लागि एउटा 'आशाको भारी' थियो।
गाउँका तन्नेरीहरू परदेशको तातो बालुवामा पसिना बगाउँदैछन्। गाउँका अधिकाङ्स घरहरूमा अहिले केवल लौरो टेकेका जेष्ठ नागरिक र बालबालिका मात्र बाँकी छन्। स्वास्थ्य सेवामा आवद्ध अनि समाजशास्त्रको विद्यार्थी हुनुको नाताले मैले बिरामीको 'पल्स' मात्र छामिनँ, ती रित्ता घरका भित्ताहरूमा कोरिएका एक्लोपनका रेखाहरू पनि पढेँ। छोराछोरी टाढा हुँदा बिरामी परेका ती बा-आमाका लागि स्वास्थ्यकर्मी नै 'छोरा' र 'भरोसा' दुवै थियो। सरकारी '१०-५' को घडीले मात्र उनीहरूको व्यथा बुझ्दैनथ्यो, त्यसैले मेरो यो थोत्रो झोला बिहान, बेलुका र मध्यरात नभनी उनीहरूको दैलोमा पुगिरहन्थ्यो। गाउँका युवाहरू खाडीमा पसिना बगाइरहेका छन्। घरमा केवल वृद्धवृद्धा र बालबालिका छन्। बिरामी पर्दा अस्पतालसम्म लैजाने बलिया काँधहरू गाउँमा छैनन्। यस्तो अवस्थामा जुन सुकै परिस्थितिमा पनि "अस्पताल नै आउनुस्" भन्नु नागरिकमाथिको अपमान हो।
आज मेरो मन भारी छ। हिजो जुन दैलोमा म झोला बोकेर पुग्थेँ, आज तीमध्ये धेरै बा-आमाहरू यो संसारमा हुनुहुन्न। मलाई बाटो हेरेर पर्खिरहने, मैले ओखती दिँदा "जुग-जुग बाँचेस् बाबु" भनेर चाउरिएका हातले आशिर्वाद दिने ती स्नेही हातहरू आज मेरै आखा अगाडि स्वर्गलोक भइसकेका छन्। अचेल गाउँका ती गोरेटोहरूमा हिँड्दा मलाई महसुस हुन्छ– ती स्वर्गवासी बा-आमाहरूले मलाई कतै माथिबाट हेरिरहनुभएको छ। उहाँहरूले अझै पनि मलाई त्यही थोत्रो झोला बोकेर अर्को कुनै असहायको दैलोमा पुग्न आशिर्वाद दिइरहनुभएको छ जस्तो लाग्छ।
शहरका आधुनिक मेसिनले रिपोर्ट त दिन्छन्, तर ती बा-आमाले खोज्ने 'मानवीय स्पर्श' र 'घरदैलोको आत्मीयता' दिन सक्दैनन् जुन ग्रामिण स्वास्थ्य सेवामा पाउन सकिन्छ। जब कुनै कारणले घरको दैलोमा पुग्न ढिला हुन्छ र समाजले "अचेल त देख्नै मुस्किल भयो" भन्छ, तब मलाई मेरो त्यही थोत्रो झोलाले गिज्याइरहेको जस्तो लाग्छ ।
समाजले हर समयमा स्वास्थ्यकर्मीको आवश्यकता देख्छ, तर राज्यले '१०-५' को कर्मचारीको रुपमामात्र देख्छ। सीमित स्रोतका भरमा बिरामीको घरमा गएर उपचार गरि ज्यान जोगाउनु एउटा डरलाग्दो जुवा हो। अस्पतालको या भनौ स्वास्थ्य सस्थाको सुरक्षित घेरा बाहिर निस्केर सेवा दिँदा हुने पेसागत र कानुनी जोखिमका बारेमा राज्य सधैँ मौन छ राज्यले कानुनी अधिकार दिएको छैन तर बेडबाट उठेर हिड्न नसक्ने वृद्ध बा आमा तथा अन्य शारीरिक रुपमा अशक्तका लागि गाउँका उकाली ओरालिमा न त एम्बुलेन्सले जान सक्छ, न त यातायात नै, न त बोकेर हिड्ने बलियो काध गाउँमा छ बाध्यकारी अवस्थाले जन्माएको एउटा सिकार स्वास्थ्यकर्मीको नाताले निर्बिकल्प भुमरीभित्र पस्न बाध्य छ। तर पनि, ती स्वर्गलोक भइसकेका बा-आमाको आशिर्वादले हरेक अप्ठ्यारोमा जोगाइरहेको विश्वास मलाई छ।यसबाट समाजले खोजेको आवश्यकता र राज्यले दिदै गरेको ग्रामीण स्वास्थ्य सेवाको अन्तर प्रस्ट रुपमा देख्न सकिन्छ बुझ्न सकिन्छ ।
मेरो झोला थोत्रो भएको छ, तर मेरो सेवाको संकल्प अझै नयाँ छ। प्रविधिले स्वास्थ्यलाई सजिलो बनाउला, तर ग्रामीण भूगोलमा स्वास्थ्य सेवालाई सार्थक बनाउन मानवीय संवेदना नै चाहिन्छ। १०-५ को पर्खालभित्र बसेर मात्रै ती रित्ता गाउँहरूको आँसु पुछ्न सकिँदैन। ती स्वर्गवासी बा-आमाका लागि र गाउँमा बाँकी रहेका ती आशाहरूका लागि म फेरि पनि त्यही थोत्रो झोला मर्मत गरेर हिँडिरहनेछु– जबसम्म मेरो गोडाले यी पहाडी गोरेटोहरू नाप्न सक्छन्।राज्यले बेलैमा सोचोस नयाँ पुराना भोट माग्न तल्लिन आदरणीय राजनितीकर्मीहरुले ग्रामीण समाजको स्वास्थ्य सेवाको भौगोलिक बनावट सङ्ग मिल्दोजुल्दो अनि समाज र ग्रामीण स्वास्थ्य सेवाप्रतिको अन्तरलाइ बुझेर यतापनी यसो नजर लगाउने होकि ।
लेखक सन्तोष सुवेदी लमजुङ क्व्होलासोथार गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी हुनुहुन्छ ।

Leave Your Comment

0 Comment