Pink October: स्तन क्यान्सर सचेतना महिना
Shisir Kumar Adhikari
0
693
0
विश्व स्वास्थ्य संगठनले हरेक अक्टोबर महिनालाई क्यान्सर सचेतना महिनाको रुपमा मनाउँदै आएको छ । सन् २०२० को ग्लोबल क्यान्सरको तथ्याङ्क अनुसार विश्वमा २३ लाख महिलाहरूमा स्तन क्यान्सर देखिएको छ र ती मध्ये ६८, ५०० जनाको मृत्यु स्तन क्यान्सरले गर्दा भएको छ | Globocan नेपाल, २०२० को तथ्याङ्क अनुसार नेपालमा स्तन क्यान्सरका १९७३ नयाँ विरामीहरू देखिएका छन् र स्तन क्यान्सका कारण १०४९ जनाको मृत्यु भएको छ । सोही Globocan नेपाल, २०२० अनुसार स्तन क्यान्सर नेपालमा हुने क्यान्सरमध्ये तेस्रो नम्बरमा पर्दछ । स्तन क्यान्सर महिला, पुरुष जोसुकैलाई पनि हुनसक्छ ।
स्तन क्यान्सरका लक्षणहरू
- स्तन वा काखीमुनि नदुख्ने गिर्खा आउनु,
- स्तनको आकारमा परिवर्तन आउनु,
- स्तनको मुन्टा भित्रतर्फ जान थाल्नु,
- स्तनको मुन्टाबाट पीप, रगत वा पानी जस्ता तरल पदार्थ बग्नु,
- स्तन दुख्नु वा सुन्नीनु,
- स्तनको छालामा निको नहुने घाउ आइरहनु
- स्तनको छाला सुन्तलाको बोक्राजस्तो हुनु
यी मध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीकोमा जाँच र परामर्शको लागि सम्पर्क गर्नुपर्छ ।
नेपालमा विगत केही वर्षको तथ्याङ्ग केलाउने हो भने स्तन क्यान्सका विरामीहरू वर्षेनी बढिरहेको देखिन्छ । यसका कारणहरूमा जीवनशैलीमा आएको परिवर्तन जस्तैः मोटोपना, मद्यपान र धुम्रपान, निस्क्रिय जीवनशैली, अस्वस्थकर खाना, चिल्लो बोसोयुक्त खाना र स्तनपान नगराउनु हुन सक्छन् ।
स्तन क्यान्सरलाई प्रारम्भिक अवस्थामा नै पत्ता लगाउन सकेमा यसलाई निको पार्न सकिन्छ । तर ढिला भयो भने उपचार गरेतापनि निको हुन गाह्रो हुनुका साथै मृत्यु समेत हुन सक्छ । त्यसैले यो अवस्थाको सिर्जना हुन नदिन शुरुकै अवस्थामा स्तन क्यान्सर पत्ता लगाउनु सबैभन्दा उत्तम हुन्छ ।
क्यान्सर रोगबारे सम्बन्धी विस्तृत जानकारीको लागि यहाँ CLICK गरि पढ्न र डाउनलोड गर्न सक्नुहुनेछ ।
