Logo
धर्मो रक्षति रक्षितः

World Radiography Day

November 8
International Public Health Days
All 2025
Shisir Kumar Adhikari 4 3861 0
विश्व रेडियोग्राफी दिवस तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस

हरेक वर्ष नोभेम्बर ८ मा रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ । सन् १८९५ नोभेम्बर ८ का दिन जर्मनीका वैज्ञानिक विल्हेल्म रोन्टजेनले रेडियोग्राफीको आविष्कार गरेका थिए । वैज्ञानिक रोन्टजेनले गरेको विकिरण एक्स–रे को आविष्कारप्रति सम्मान दिन प्रत्येक वर्ष उक्त दिवस विश्वभर मनाइँदै आइएको छ । सन् १८९५ मा एक्स–रेको खोजसँगै रोन्टजेनले चिकित्सा जगतलाई पूर्णरूपमा परिवर्तन गरे । पहिलो पटक बिनाशल्यक्रिया शरीरको भित्री भाग देख्न सकिने भयो । यसले रोग पहिचान र उपचारमा क्रान्ति ल्यायो। उनको योगदानलाई सन् १९०१ मा पहिलो नोबेल पुरस्कार समारोहमा भौतिकशास्त्रको नोबेल पुरस्कारबाट सम्मान गरियो । त्यसैले विल्हेम रोन्टजेनलाई रेडियोलोजीका पिता भनिन्छ । उनले आफ्नो प्रविधिबारे विश्वभरका अनुसन्धानकर्ताहरूलाई नि:ल्क प्रयोग र सुधार गर्न प्रोत्साहित गरे । यही कारण एक्स–रे प्रविधि छिट्टै संसारभर फैलियो।
सर्वप्रथम सन् २०१२ मा रेडियोलोजीको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो । युरोपियन सोसाइटी अफ रेडियोलोजी, उत्तरी अमेरिकाको रेडियोलोजिकल सोसाइटी, अमेरिकन कलेज अफ रेडियोलोजीको पहलमा विश्व रेडियोलोजी दिवस मनाउन सुरु गरिएको हो ।

सुरुवाती अवस्थामा रेडियोग्राफीको काम हातखुट्टा भाँचिदा वा शरीरको कुनै पनि जोर्नीहरूमा चोटपटक लाग्दा गरिन्थ्यो । रेडियोग्राफीका आविष्कारक विलहेल्म रोन्टजेनले आफ्नो श्रीमतीको हातको एक्स–रे गरेर रेडियोग्राफीको सुरुवात गरेको मानिन्छ। अहिले आएर शरीरका विभिन्न भागका चोटपटकको एक्स–रे, एम आर आई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफी जस्ता प्रविधिमा रेडियोग्राफीले इमेजिङ गर्ने काम गर्छ । अहिले उपचारमा नयाँ नयाँ प्रविधिको विकास भएजस्तै रेडियोग्राफीमा पनि नयाँ नयाँ मेसिनहरूको प्रयोग हुन थालेको छ । सबै उमेर समूहका व्यक्तिले रेडियोग्राफी गराउन सक्छन् । तर कतिपय अवस्थामा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । जस्तै महिलाहरूको गर्भावस्था तथा महिनावारी हुने समयमा र बच्चा जन्मेको १ वर्षभित्रमा रेडियोग्राफी गराउँदा होसियारी अपनाउनुपर्छ ।