World Sight Day

World Sight Day

Second Thursday of October
International Public Health Days
All 2025 2024 2023 2022 2021 2020 2019 2018 2017 2016 2015 2014 2013 2012 2011 2010 2009 2008 2007 2006 2005
Shisir Kumar Adhikari 421 1

विश्व दृष्टि दिवस (World Sight Day): अक्टोबर महिनाको दोस्रो बिहिबार

शरीरका पाँच ज्ञानेन्द्रिय मध्ये आँखा एक प्रमुख इन्द्रिय हो । दृष्टि बिनाको संसार अत्यन्त दुःखद हुन्छ । सन् १९९८ को अक्टोवर ८ गतेदेखि विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन (International Agency for the Prevention of Blindness- IAPB) ले संयुक्त रुपमा मनाउन सुरु गरेको विश्व दृष्टि दिवसले विश्वमा अन्धोपनका प्रमुख कारणहरु तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनसाधारणसम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिवृद्धि गर्ने कार्यमा सरोकारवाला सबैलाई अझ बढि प्रेरित र प्रोत्साहित गर्दै आएको छ । विश्व स्वास्थ्य संगठन र LAPB ले संयुक्त रुपमा विश्वबाट उपचारको माध्यमबाट निवारण गर्न सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्ने उद्देश्यले सन् १९९९ नोभेम्वरमा 'भिजन २०२० दृष्टि सबैको अधिकार भन्ने विश्वव्यापी अभियानका लागि आह्वान गरेको थियो । यही आह्वानलाई आत्मसात् गरी हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबारका दिनलाई विश्वभरि विश्व दृष्टि दिवसका रुपमा  मनाउने गरिन्छ ।

यस दिवसको मुख्य उद्देश्य विश्वकै प्रमुख स्वास्थ्य समस्याको रुपमा मानिएको पूर्ण वा आंशिक दृष्टिविहिनता तथा दृष्टिदोषको न्यूनीकरणका लागि सबै सरोकारवालाहरु (सरकार, सरकारी स्वास्थ्य निकायहरु तथा आँखा स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरु लाई राष्ट्रिय अन्धोपन निवारण कार्यक्रममा अझ बढि एकतावद्ध र संगठित भएर ठोस नीति र योजनाका साथ क्रियाशील हुन अभिप्रेरित गर्नुका साथै लक्षित वर्गलाई अन्धोपन निवारण कार्यक्रम तथा यसका क्रियाकलापहरुका बारेमा सचेतना अभिबृद्धि गराई अन्धोपनविरुद्धको कार्यक्रममा व्यापक जनसहयोग र समर्थन प्राप्त गर्न अभिप्रेरित गर्नु रहेको छ । आँखाको स्वास्थ्य उपचार विश्वका लागि ठूलो चुनौती भएको महसुस गरी दिवसका माध्यमबाट जनजागरण र सजगता अपनाउन आग्रह गरिन्छ । यस्तो अभियानमा मूलतः विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय अन्धोपन निवारण संघ, लायन्स क्लब इन्टरनेशनल तथा विभिन्न सरकारी, गैरसरकारी, निजी संस्था र आँखा रोग विशेषज्ञहरु लागिपरेका छन् । समयमै आँखा उपचारको बारेमा जागरुकता ल्याउन सक्ने हो भने ठूलो जनसंख्या अन्धोपन हुनबाट जोगिन सक्छ ।

नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको अगुवाईमा  संघ, प्रदेश र स्थानीय तहमा पत्रकार सम्मेलन, सामाजिक सन्जाल तथा Radio तथा TV मार्फत आँखा सम्बन्धी जनचेतनाका सन्देशहरु प्रवाह गर्ने, आँखा स्वास्थ्य सम्बन्धी अन्तरकृया गर्ने तथा विभिन्न ठाउँमा आँखाको जाँच गरि विश्व दृष्टि दिवस मनाइन्छ ।

विश्व स्वास्थ्य संगठनको सन् २०१९ को रिपोर्ट अनुसार बिश्वमा करिब २२० करोड मानिसहरु आन्धोपन वा दृष्टि कमजोरीको समस्या भएको अनुमान गरिएको छ जस मध्ये करिब १०० करोड मानिसहरुको दृष्टि कमजोरीको निको हुने खालको छ । नेपालमा २०६८ सालको अन्धोपन सर्भे अनुसार करिब ०.३५ प्रतिशत मानिसहरु अन्धोपनको शिकार भएको अनुमान छ । त्यस्तै नेपालमा करिब ३०,००० बालबालिका अन्धो र करिब ३ लाख ३० हजार बालबालिकाका आँखा कमजोर अवस्थामा रहेको अनुमान गरिएको छ । त्यस्तै गरि संसारभरि जस्तै नेपालमा पनि दृष्टि कमजोर हुने मुख्य कारण दृष्टि दोष नै रहेको र अन्धोपनको मुख्य कारण मोतिबिन्दु रहेको छ । बालबालिकामा हुने अन्धोपनका कारणहरु मध्ये दृष्टि दोष ( चश्मा प्रयोगबाट ठीक हुने), अल्छी आँखा, भिटमिन 'ए' को कमी, दादुरा आदिसँगै डेढो आँखा र पर्दाका समस्या प्रमुख छन् । करिब ५० प्रतिशत बालअन्धोपन सजिलै रोकथाम गर्न सकिने तथ्य विभिन्न सर्वेक्षणहरुबाट पाइएको छ । विकशित देशहरुमा जस्तै नेपालमा पनि हाल आँखाको पर्दाको रोगहरु विगतमा भन्दा रहेको छ ।


स्वस्थ आँखाको पहिचान:

  • आँखाको सेतो भाग सेतो र कालो भाग कालो हुनुपर्छ ।
  • माथिल्लोे ढकानीले अलिकति कालो भाग ढाकेको हुनुपर्छ र तलको ढकनीले कालो भागलाई छोएको हुनुपर्छ ।
  • आँखाको झिम्काई सामान्य दरमा (१५ देखि १८ पटक प्रति मिनेट) हुनुपर्छ ।
  • सिधा हेर्दा दुवै आँखा सोझो देखिनुपर्छ ।
  • आँखा ठिक्क ओसिलो हुनुपर्छ, न त ज्यादा सुख्खा न त धेरै आँसुले भरिएको ।
  • सामान्य प्रकाश भएको ठाउँमा आँखा पुरा खोल्न सक्नुपर्छ ।
  • कम प्रकाश भएको ठाउँमा पनि सामान्य व्यक्तिसरह हिडडुल गर्न सक्नुपर्छ ।

लक्षणहरुको आधारमा असामान्य दृष्टि छुटयाउने तरिका:

निम्न लक्षणहरु देखिएमा आँखाको दृष्टि असामान्य भएको बुझनुपर्छ तुरुन्त आँखा उपचार केन्द्रमा जानुपर्छ ।

  • नयाँ ठाउँमा हिड्न कठिन हुनु वा हिड्दा यत्र तत्र ठोक्किदै हिड्नु ।
  • बस्तु छोएर वा छामेर पहिचान गर्न खोज्नु ।
  • बस्तुको चाल तथा आवाज सुनेर प्रतिक्रिया गर्नु ।
  • हिड्डुल गर्न कुनै साहारा वा कसैको सहायताको खोजि गर्नु ।
  • आँखा चिम्सो पारेर हेर्न खोज्नु र चर्को घाममा हेर्न मन नपराउनु ।
  • पढ्दा लेख्दा किताब कापी धेरै नजिक लिनु र मसिना अक्षर पढ्न कठिन हुनु ।
  • लेखपढ गर्दा वा केहि बस्तुहरु हेर्दा आँखा बारम्बार मिच्नु वा आँखा बन्द गर्न खोज्नु ।
  • चलिरहेको गुडिरहेको बस्तुहरुलाई हेरेर आँखाले पछ्याउन नसक्नु ।
  • आँखाको गेडी लगातार हल्लिरहनु ।

कार्यस्थलमा आँखालाई यसरी माया गरौं :

  • आँखाको तनाव कम गर्नको लागि कार्यस्थल राम्रोसँग उज्यालो भएको सुनिश्चित गर्ने,
  • आफ्नो आँखालाई ओसिलो राख्न बारम्बार झिम्काउनुहोस्, आँखा धेरै नै सुख्खा महसुस भए कृत्रिम आँसु प्रयोग गर्ने,
  • आँखाको तनाव कम गर्न २०-२०-२० नियम पालना गर्न प्रत्येक २० मिनेटमा २० सेकेन्ड ब्रेक लीइ आँखालाई आराम दिन कम्तिमा २० फिट टाढा हेर्ने,
  • आँखाको तनाव कम गर्नको लागि काम बाहिर डिजिटल स्क्रिनहरू समावेश हुने गतिविधिहरूमा कम संलग्न हुने,
  • आँखाको मांसपेशी बलियो बनाउन र तनाव कम गर्न आफ्नो आँखा घुमाउने वा टाढाको वस्तुमा ध्यान केन्द्रित गर्ने जस्ता अभ्यास गर्ने,
  • सम्भावित आँखाको जोखिमपूर्ण वातावरण (घर निर्माणस्थल, खेतबारी, घर तथा वाल पेन्टिङ, ग्रील उद्योग, गाडि मर्मतस्थल, मोटरसाईकल गाडि चलाउँदा, ट्राफिक प्रहरीहरु डिउटिमा रहँदा, आदि) मा काम गर्नुहुन्छ भने सुरक्षात्मक चस्मा नियमित प्रयोग गर्ने,
  • आँखाको स्वस्थ राख्नको लागि र आँखा सुख्खा हुनबाट जोगिन पर्याप्त पानी पिउने,
  • आँखा स्वास्थ्यको जाँच गर्न र दृष्टिसम्बन्धी कुनै पनि समस्यालाई तुरुन्तै सम्बोधन गर्नको लागि नेत्र सहयक-अप्टोमेट्रिस्ट वा नेत्र रोग विशेषज्ञसँग नियमित आँखा जाँच गराउने । (नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान)

सामान्य परिक्षण विधिबाट समयमा पत्ता लाग्न सक्ने र उपचार हुन सक्ने आँखाको समस्याले बालबालिका सहित सबै उमेर समुहका व्यक्तिको उत्पादनमूलक जीवन फलदायी बनाउन सक्छ ।


दृष्टिसँग सम्बन्धित थप सामग्री पढ्न र डाउनलोड गर्न यहाँ CLICK गर्नुहोस् ।