"स्तनपानलाई प्राथमिकता दिऔ: सहयोगी वातावरण निर्माण गरौ" भन्ने नाराका साथ ३३ औँ विश्व स्तनपान सप्ताह मनाइँदैछ। शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन र आमालाई प्रेरित गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन (WHO) र युनिसेफको सहाकर्यमा हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ।
सामान्यतया शिशुलाई आफ्नै आमाको दूध चुसाउनु स्तनपान हो। स्तनपानको दुई वटा मूलभूत मापदण्ड छन्-
प्रारम्भिक स्तनपान भन्नाले शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाउन सुरु गर्नु हो। यसो गर्नाले शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्दछ। शिशुको शरीरमा ग्लुकोजको कमि हुनबाट बचाउँछ। साथै बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेलो प्रकारको बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता (एन्टिबडी) धेरै हुने भएकोले बच्चालाई रोग लाग्नबाट समेत बचाउने हुँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोप पनि भनिन्छ।
शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनु नै पूर्ण स्तनपान हो। शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल्स, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्व समेत आमाको दूधमा नै प्रायाप्त हुने भएकोले अन्य कुनै पनि किसिमको थप खाना खुवाउन आवश्यक हुँदैन।
यसरी ६ महिनासम्म स्तनपान गराउँदा शिशुहरुको शारीरिक र मानिसक वृद्धि र विकासका लागि सहयोग पुग्दछ। पूर्ण स्तनपान गराएका बच्चाहरुको दिमागी क्षमता अन्य बच्चाभन्दा तीक्ष्ण हुने हुन्छ। संक्रामक रोगबाट बच्ने र आर्थिक भार पनि नपर्ने तथा आमाको स्वास्थ्यमा समेत सकारात्मक फाइदा भएकोले स्तनपान अमृत समान हुन पुगेको छ।
दीर्घकालीन रुपमा बच्चाको मृत्युदर घटाउन समेत स्तनपानको भूमिका रहेको छ। शिशु ६ महिना पुग्ना साथ आमाको दूधका साथसाथै पोषिलो थप आहार ख्वाउन थाल्नु पर्दछ र कम्तीमा दुई वर्षसम्म थप आहारका साथ स्तनपानलाई पनि निरन्तरता दिनु पर्दछ।
बालबालिका जन्मे पश्चात आमाको स्तनबाट आउने पहिलाे पहेंलो बाक्लो दूध नै बिगौती दूध हो ।
बिगौती दूधमा विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक तत्वहरू हुने भएकाले यसले बालबालिकालाई रोगहरूबाट बचाउँछ ।
बिगौती दूधले बालबालिकाको पाचन प्रणालीले सजिलै पचाउन सक्ने विभिन्न पोषक तत्वहरू धेरै मात्रामा प्रदान गर्छ ।
बिगौती दूधले बालबालिकाको शरीर बाट बिलुरिविन नामक तत्वलाई निष्कासन गर्न मद्दत गर्छ जसले गर्दा कमलपित्त (जन्डिस) हुन दिँदैन।
बिगौती दूधमा प्रोटीन, भिटामिन ए र अन्य सूक्ष्म पोषक तत्वहरु बढीमात्रामा पाइन्छ जसले गर्दा बालबालिकाको वृद्धि विकासमा मद्दत गर्छ।
बिगौती दूधले बालबालिकालाई एलर्जी अथवा खाना नपच्ने हुन दिँदैन ।
आमाको दूध बालबालिकाको लागि अमृत समान हो । यसले बालबालिकाको जीवन रक्षा गर्छ
यसमा बालबालिकालाई आवश्यक पर्ने प्रयाप्त पानी (८७%) र खनिज तत्वहरू हुन्छ्न्
यो सधैं सफा र सुरक्षित हुन्छ
यसमा झाडापखाला तथा श्वास प्रश्वास सम्बन्धी संक्रमणहरु विरुद्ध लड्ने प्रतिरोधात्मक तत्वहरू रहेको हुन्छ
यो सधैं तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ
बालबालिकाको लागि यो पूर्ण खाना हो। यसमा बालबालिकालाई ६ महिना पुरा नभएसम्म आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरू प्रयाप्त मात्रामा हुन्छ
यसले बालबालिकाको उपयुक्त वृद्धि तथा विकास हुन मद्दत गर्छ
यो बालबालिकाले सजिलै पचाउन सक्छन्। यसमा रहेका पोषक तत्वहरू शरीरले राम्ररी सोस्न सक्छ
यसले एलर्जी विरुद्ध रक्षा गर्छ। दूधमा रहेको प्रतिरोधात्मक तत्वले बालबालिकाको आन्द्राको रक्षा गर्छ र हानिकारक तत्वहरूलाई रगतसम्म पुग्न दिँदैन
यसले गिजा र दाँतको विकास गर्न सहयोग गर्छ तथा दूध चुसाइले अनुहारको मांसपेशीको विकास गर्न सहयोग गर्छ
आमासँग पटक पटक टासेर राख्ने गरेमा स्नेहपुर्ण सम्बन्ध हुन्छ जसले बालबालिकाको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्न पनि सहयोग गर्छ । ६ महिना पछि पनि शिशुको पोषणको धेरै आवश्यकता पूरा गर्छ।
बालबालिका जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिट्टै बाहिर निस्कन्छ किनभने बालबालिकाले दूध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चिन्छ र बालबालिका जन्माएपछि बढी रगत बग्ने खतरालाई घटाउँदछ
बालबालिका जन्मने बित्तिकै उसलाई आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ । तुरुन्तै र पटक पटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुन्छ
आमाको कामको भारलाई घटाउँदछ । पानी उमाल्न इन्धन जुटाउने, दूध बनाउने आदि काम गर्नु पर्दैन । आमाको दूध जुनसुकै बेला जहाँ पनि खुवाउन सकिन्छ । यो सधैं सफा , पोषिलो र ठीक तापक्रमको हुन्छ । यो कम खर्चिलो हुन्छ
आमा र बालबालिका बीचको माया ममता बढ्छ। बालबालिकाले आफूलाई सुरक्षीत महसुश गर्छ
महिलालाई हुने स्तन र पाठेघर सम्बन्धी क्यान्सर को खतरालाई घटाउँदछ
महिनावारी नफर्केको अवस्था तथा बालबालिका जन्मेको पहिलो ६ महिना प्रभावकारी पूर्ण स्तनपान गराएमा ९८% गर्भ निरोधको रुपमा काम गर्छ
अन्य दूध किन्ने पैसा बचत हुन्छ । दाउरा अरु इन्धन खर्च हुँदैन । यो बचेको पैसाले परिवारमा जरुरी परेका अन्य कुराहरू किन्न सकिन्छ
अन्य दूध खुवाउँदा बालबालिकाहरू बिरामी भएर लाग्ने औषधि खर्च हुँदैन। आमा र बालबालिका दुवै स्वस्थ रहन्छन्
समयको बचत हुन्छ किनभने आमाको दुध सधैं तयारी र भनेको समयमा पाइन्छ
अन्य कृत्रिम दूध आयात गर्नु पर्दैन् जसबाट राष्ट्रिय आम्दानी बचत हुन्छ र यसलाई अरु कुनै काममा खर्च गर्न सकिन्छ
स्वस्थ बालबालिका पछि स्वस्थ नागरिक बन्छ र देशको विकासमा सहयोग पुर्याउँछ
बाल रोगहरूमा आउने कमीले यसको उपचारमा हुने राष्ट्रिय खर्च घटाउँछ । बाल मृत्युदर घटाउँछ
गर्भवतीलाई गर्भावस्थादेखि बच्चाको जन्म २ वर्षसम्म मातृ पोषणमा विशेष ध्यान दिँदै पौष्टिक तत्व युक्त विविध खाना खुवाउने।
बच्चा जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउने। बच्चा ६ महिनाको भएपछि आमाको दूधसंगै विविध खाना मिसाइएको पौष्टिक पूरक खाना खुवाउने।
जन्मने बित्तिकै नवशिशुलाई आमाको नाङ्गो छातीमा टाँसेर राख्ने।
बिगौती दूध पहिलो खोप सरह हुनाले शिशु जन्मने बित्तिकै खुवाउने।
शिशुको आवश्यकता अनुसार एक दिनमा ८ देखि १२ पटक २४ घण्टा (दिन र रात) स्तनपान गराउनु पर्दछ। आमाको दूधमा सम्पूर्ण पौष्टिक तत्वहरू र शिशुलाई पुग्ने पानीको मात्रा हुने भएकोले पानी पनि खुवाउनु पर्दैन। बच्चा कम्तिमा दुई वर्ष नपुगुन्जेल नियमित रुपले अन्य खानाको साथै आमाको दूध नै खुवाइ रहनुपर्छ।
मृत्यु हुने उच्च जोखिम हुन्छ ( पहिलो ६ महिना सम्ममा स्तनपान गरेको शिशुमा भन्दा स्तनपान नगरेको शिशुमा मर्ने सम्भावना १४ गुणा बढी हुन्छ )
१ घण्टा भित्र शिशुलाई स्तनपान नगराउँदा शिशुको मृत्यु हुने सम्भावना ३ गुणा बढी हुन्छ
अन्य दूधमा रोग प्रतिरोधात्मक क्षमता हुँदैन साथै पचाउन पनि गार्हो हुन्छ
पटक पटक पखाला लाग्ने , बिरामी भइरहने र सिकिस्त बिरामी हुने (६ महिना भन्दा कम उमेरका शिशुहरुलाई खुवाउने दूधमा प्रदूषित पानी, पाउडर दूध तथा अन्य खानेकुराहरू पर्न जानाले जोखिम बढाउँदछ। जसको कारण बालबालिकाले शारीरिक तथा मानसिक विकासमा कमी ल्याउँछ जस्तै बुद्धिमा कमी , कम तौल, पुड्कोपना, ख्याउटपना आदि)
आमाको दूध नखुवाउनाले साना बालबालिकाहरुमा न्यून पोषण हुने जोखिम बढी हुन्छ
आमा र शिशु बीचमा सामिप्यता कमी हुनुका साथै बालबालिकाले असुरक्षित महसुस गर्छ
बौद्धिक क्षमताको परीक्षणमा कमी, विद्यालयमा सिक्न सक्ने क्षमता कमी, सिकाएको कुरा बुझ्ने क्षमता कमी र दिमाखको विकासमा कमी आउँछ
पछि गएर मुटु रोग, मधुमेह, क्यान्सर, दम जस्ता रोगहरूको जोखिम उच्च हुनुको साथै दाँत समबन्धि समस्याहरू देखा पर्दछन्
शिशुको उमेर जति कालीको छ जोखिमको मात्रा झनै उच्च हुन्छ
आमा छिट्टै गर्भवती हुन सक्छिन्
यदि स्तनपान तुरुन्तै नगराएमा रक्तअल्पता हुने जोखिम बढ्न सक्छ ( बालबालिका जन्माई सकेपछि रक्तश्राव बढी हुने कारणले रक्तअल्पता हुन जान्छ)
शिशुसँगको सामिप्यता मा कमी आउँछ
सुत्केरी अवस्थामा उत्पन्न हुने मानसिक उदासिनता हुने जोखिम बढ्छ
स्तनपान नगराउने आमाहरुमा पाठेघरको क्यान्सर र स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ
बिरामीको कारणले औषधि उपचार साथै यातायात खर्च बढ्न जान्छ
दूध किन्ने खर्चमा वृद्धि हुन्छ
गर्भान्तर अवधि छोटो हुन जान्छ र बर्षनी बालबालिकाका जन्मिन्छन्
समय बढी लाग्छ (दूध किन्न तयार गर्न र इन्धन जुटाउन)
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकार भित्र नवजात शिशुलाई स्तनपान प्रवर्द्धन र सहजिकरणको लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था गरेको छ भने आवश्यक परेमा चिकित्सकको राय सल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरेको छ।
सबै प्रकारको सरकारी, गैर सरकारी वा निजी संघ-संस्थाले आफ्नो कार्यलयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यलय समयमा आमाको दूध खुवाउनको लागि आवश्यक व्यवस्था मिलाउनु पर्ने उल्लेख छ।
हरेक कार्यलय, स्कुल, बस, पार्क र एयरपोर्ट जस्ता स्थानमा छुट्टै स्तनपान कक्ष हुनु पर्ने व्यवस्था गरेको छ।
स्तनपान नवजात शिशुको लागि नैसर्गिक अधिकारको रुपमा परिभाषित गरिएको छ।
स्तनपान गराउने आमाले सफा र खुकुलो लुगा लगाउनु पर्दछ ।
स्तनपान गराउने आमाले झोलसहित थप पोसिलो खाना खानु पर्दछ, जस्तै: ज्वानोको रस, माछामासु, गेडागुडी, दूध, दालको रस, सिस्नु, र अन्य झोलिलो खानेकुराहरु बढी मात्रामा खानु पर्दछ ।
स्तनपान गराउनुअघि साबुनपानीले राम्ररी हात धुनु पर्दछ सफापानीले स्तन सफा गर्नु पर्दछ ।
स्तनपान गराउँदा आमाले आफ्नो स्तनलाई अंग्रेजी अक्षरको सी (C) आकारमा समात्नु पर्दछ र बुढीऔंला स्तनको मुन्टो वरिपरिको कालो भाग माथि हुनु पर्दछ र अरु औँला स्तनको तलपट्टि हुनुपर्छ ।
बालबालिकाको शरीर सीधा (Straight) हुनुपर्छ
बालबालिकाको शरीर र मुख आमाको स्तनतिर फर्केको हुनुपर्दछ (Facing)
बालबालिकाको पेट आमाको पेट सँग टासिएको हुनुपर्दछ (Close)
आमाले बालबालिकाको सम्पूर्ण शरीरलाई थामेको हुनुपर्दछ (Support)
बालबालिकाको मुख पूर्ण खोलेको हुनुपर्दछ ।
बालबालिकाको तल्लो ओठ बाहिर फर्केको हुनुपर्दछ ।
बालबालिकाको चिउँडोले आमाको स्तन छोएको हुनुपर्दछ ।
स्तनको धेरैजसो कालो भाग बालबालिकाको मुखभित्र पसेको हुनुपर्दछ ।
स्तनपान गराउँदा आमा आफू आरामसँग बस्नुपर्छ । शिशुलाई काखमा लिने र शिशुको टाउको अलिकति ढल्काई आफूतिर फर्काएर दूध चुसाउनु पर्दछ ।
स्तनपान गराउँदा एकापट्टिको दूध पूर्ण रुपमा खाली हुनेगरी खुवाउनु पर्दछ । त्यसपछि मात्र अर्कोपट्टिको स्तनपान गराउनु पर्दछ ।शिशुले जति दूध चुस्छ त्यति नै बढी मात्रामा दूध रसाउँछ । दूध खुवाइसकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठ्युँमा मुसारी डकार्न लगाउनुपर्छ, यसो गर्नाले स्तनपान गर्ने बित्तिकै शिशुले वान्ता गर्दैन ।
सुत्केरी भएको ४५ दिनभित्र भिटामिन ‘ए’ क्यापसुल ‘एक मात्रा’ खानुपर्दछ । यो क्यासुल नजिकैको स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । त्यसैगरी सुत्केरी भएको ‘छ’ हप्तासम्म आइरन चक्की सेवन गर्नु पर्दछ ।
परिवारका अन्य सदस्यहरुलगायत स्तनपान गराउने आमाले दुई बालबालिका चिन्ह भएको आयोडिनयुक्त नुन राखेर बनाइएको खाना खानु पर्दछ ।
दूध नआउने, बच्चाले दूध खान नमान्ने, स्तनका मुन्टामा घाउ भएमा स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयमसेविकालाई तुरुन्त सम्पर्क गर्नुपर्दछ ।
स्तनपानले गर्दा आमा र बच्चाको आत्मीयता प्रगाढ हुन्छ । आर्थिक र स्वास्थ्यको हिसाबले हेर्दा पनि आमाको दूध ‘पाउडर दूध’ वा ‘फर्मुला मिल्क’भन्दा सस्तो र राम्रो हुन्छ ।स्तनपानसम्बन्धी हाम्रो समाजमा विद्यमान कुरुतीहरुलाई हटाएर महिलाहरुलाई स्तनपान गराउन सहज वातावरण निमार्ण गर्न सम्बन्धित निकायले ध्यान दिनु आवश्यक देखिन्छ । 
Saroj Kumar Bhatta