जहाँनिया हुकुमी शासन अन्त्य भएको दिन हो, आज । राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासनलाई विदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको थियो, २००७ फागुन ७ का दिन ।
आज (२०७९ साल फागुन ७ गते) ७३औँ प्रजातन्त्र दिवस विविध कार्यक्रम गरि देशभरी मनाइदै छ । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ । सोही अवसरमा सरकारले औपचारिक समारोहका साथ 'राष्ट्रिय प्रजातन्त्र दिवस' मनाउने गरेको छ ।
राणाहरूले सुरुदेखि नै विरोधको सामाना गर्नु पर्यो । लखन थापा र सुपति गुरुङ्गले राणाहरूका विरुद्ध सुरु आवाज उठाए । आर्य समाजमा प्रभावित माधवराज जोशीले वीर शमशेरका पालामा काठमाडौँमा आर्य समाजको प्रचार प्रसार गर्ने नागरिक अधिकार समिति गठन गरी राणा विरोधी गतिविधि गर्न थाले । चन्द्र शमशेरको पालादेखि नेपालमा जन चेतना तीब्ररूपले बढ्न गयो र त्यसको दमन पनि व्यापक रूपले हुन थाल्यो । माधवराज जोशीलाई अपमान गरी दुई वर्षको लागि कारागार पठाईयो । चन्द्र शमशेरकै पालामा सुब्बा कृष्णलालले ‘मकैको खेती’ नामक पुस्तक तयार गरे ‘मकैको खेती’ मा नेपाली किसानको दयनिय अवस्थाको मार्मिक चित्रण गरी अप्रत्यक्षरूपमा राणाको आलोचना गरिएको थियो । ‘मकैको खेती’ लेखे वापत कृष्णलालाई नौ वर्षको कैद सजाय दिईयो र कारागार मै लेखकको मृत्यु भयो । यसैबेला काठमाडौँमा आर्यहरूको साखा खोल्नेलाई पनि कारागारको सजाय दिईयो । पुस्तकालय खोल्ने भिम शमशेरको पालामा अनुमति माग्ने युवाहरूलाई सय सय रूपैया जरिवाना असुली गरियो । यसै समयमा केही युवाहरू एकआपसमा मिलि ‘प्रचण्ड गोरखा’ संस्थाको स्थापना गरे । यस संस्थाको उद्देश्य नेपालमा निरंकुश राणा शासनको समाप्ती गर्नु थियो तर प्रचण्ड गोरखाकै एकजना सदस्यले यसको गोप्यता खोलिदिएकोले केहि काम गर्न नपाउदै यो संस्था खत्तम गरियो । एकतन्त्री राणा शासनको अन्त्य गर्ने उद्देश्य लिएर जुद्ध शसमशेरका पालामा दशरथ चन्द्र, टंकप्रसाद आचार्य, रामहरि शर्मा आदिले प्रजापरिषद्को स्थापना गरे । प्रजापरिषद्ले राणा शासनको विरुद्ध पर्चाहरू छर्न थाल्यो र राणा सरकारले यस संस्थाका सदस्यहरूलाई गिरफ्तार गर्नेहरूलाई रु ५००० दिने घोषणा गर्यो। प्रजापरिषद्का सदस्यहरूलाई गिरफ्तार गर्न सरकार सफल भयो । प्राणदण्ड, सर्वस्वहरण, जन्म कैददेखि लिएर दुई महिना देखि अठार वर्ष सम्मको कैद गर्ने निर्णय सुनाईयो ।
प्रजातन्त्र प्राप्तिकै लागि भएका संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले ज्यान बलिदान दिएका थिए । उनीहरुलाई बिक्रम सम्वत १९९७ माघमा तत्कालीन राणा शासकहरुले विभिन्न स्थानमा लगि मृत्युदण्डको सजाय दिएका थिए ।
२००३ सालदेखि राणा विरोधी संगठित आन्दोलनको सुरुवात भयो । केही युवाहरूले कलकतामा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे । यस कांग्रेसको उद्देश्य पनि राणा शासनको समाप्ती गर्नु नै थियो । राष्ट्रिय कांग्रेसले आफ्नो काम सुरु गर्न थाल्यो । विराटनगर जुट मिलमा भएको हड्तालमा यसले मजदुरहरूको साथ दियो । राणाहरूले यस हडतालको व्येवास्था गरेकोले नेपाली राष्ट्रिय कांग्रेसले सत्याग्रह आन्दोलन सुरु गर्यो । यसैबाट प्रभावित भएर संस्कृतपाठशाला विद्यार्थीहरूले समेत ‘जयतु संस्कृतम’ को नारा लगाई कक्षाहरूको बहिस्कार गरे । नेपाली कांग्रेसको लोकप्रियता बढ्दै गयो । राष्ट्रिय कांग्रेसभित्र नेताहरूको खिचातानी भई एउटा गुटले मातृकालाई र अर्को गुटले डिल्लीरमण रेग्मीलाई नेता छान्यो । २००५ सालमा आएर नेपाल प्रजातन्त्र कांग्रेसको नामले अर्को राजनैतिक दलको स्थापना भयो । यस कांग्रेसको उद्देश्य पनि राणा शासनको समाप्ती गर्नु नै थियो । यस प्रकार विभिन्न गुटहरू छरिई राणाहरूको विरोध गर्न गार्हो भएदेखि २००६ सालको चैत्र महिनामा नेपाली राष्ट्रिय कांग्रेस (मातृका समूह) र नेपाल प्रजातन्त्र कांग्रेसको संयुक्त बैठकले एक नयाँ राजनीतिक पार्टीका स्थापना गर्यो। यस पार्टीको नाम नेपाली कांग्रेस राखियो ।
प्रथमतः यस कांग्रेसको उद्देश्य शान्तिपूर्ण तरिकाले आन्दोलन गरी राणा शासनको समाप्ती गर्नु थियो । वि.सं. २००७ सालको असोज महिनामा बैर्बनीयमा भएको कांग्रेसको अधिवेशनले आफ्नो उद्देश्य पनि परिवर्तन गरी राणाहरूको विरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय गर्यो । यसको केहि हप्ता पछि स्थितिमा महत्वपूर्ण परिवर्तन आयो । राणा शासन विरुद्धको क्रान्तिमा आफ्नो सर्मथन जनाउँदै राजा त्रिभुवनले स–परिवार राजदरबारबाट बाहिर आई राजधानी स्थित भारतीय राजदुतावासमा शरण लिए । ४ दिनसम्म राजदुतावासमा बसि विमानबाट भारत प्रस्थान गरे । ज्ञानेन्द्र वीर विक्रम शाह भने राजदरबारमै रहेका थिए । ज्ञानेन्द्रको उमेर अढाई वर्षको थियो । के कति कारणले राजदरबार छोडियो स्पष्ट भन्न सकिन्न र विभिन्न अड्कल मात्र गरिन्छ । राणा शासकहरू चिन्तित भए । राणाहरूले राजाका नाति ज्ञानेन्द्रलाई राजा घोषित गरे । नयाँ राजाका नाममा मोहर छापियो । भारत, बेलायत, अमेरिकाले नयाँ राजालाई मान्यता दिएनन् । त्रिभुवनले भारत प्रस्थान गरेका दिन देखिनै नेपालका विभिन्न ठाउँमा सशस्त्र क्रान्ति भयो र धेरै ठाउँ राणाहरूको हातबाट उम्कियो । राणाहरूले घुँडा टेकेर सम्झौताको प्रस्ताव अगाडि सारे र भारतीय सरकारको मध्यस्ततामा त्रिभुवन, राणाहरू नेपाली कांग्रेसकाबीच दिल्लीमा सम्झौता वार्ता सुरु भयो । वार्ता सफल भई सम्झौतामा टुंगियो । वास्तवमा मोहन शमशेर र पण्डित जवाहरलाल नेहरूको बीचमा २००७ सालको क्रान्तिलाई शान्तिपूर्ण तवरले टुङ्गाउने बारेमा सम्झौता भयो यसै सम्झौतालाई ‘दिल्ली सम्झौता’ पनि भनिन्छ । यसरी वि.सं. २००७ साल फागुन ७ गते नेपालको इतिहासमा राणाशासनको अन्त्य सँगै प्रजातन्त्रको प्रादुर्भाव भयो । त्यहीकारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गर्छौ । राणाहरुको वंशीयतन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।
विगतमा यो दिनको बेग्लै महत्व थियो । २०६३ बैशाखमा लोकतन्त्र स्थापनासँगै यो दिन ओझेलमा परेको भनेर भन्ने तर्कहरु सुन्न पाइन्छ । बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’ शब्द हराउँदै गएको छ र त्यो ‘लोकतन्त्र’ले लिएको हो । शब्द फेरिए पनि शासकीय वृत्त अझै लोकतन्त्रसँग अभ्यस्त छैन, तिनका क्रियाकलापमा राणा शाहीकै धङधङी नियमित छ । तर, यो दिन नेपालको राजनीतिक र शासकीय इतिहासमा प्रजातन्त्रको बेग्लै महत्त्व छ ।